काठमाडौँ । पुस २७ गतेबाट प्रदर्शन हुने फिल्म ‘पर्खी बसेँ तिमीलाई’ मा समावेश शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको सङ्गीत र डाक्टर कृष्णहरी बरालको शब्द छ ।

हिमाली तथा पहाडी भूभागको रमणीय दृश्यमा छायांकन गरिएको गीतमा यसै फिल्ममार्फत अभिनयमा डेब्यु  अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी फिचर्ड छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । किरण र रक्षाको प्रेम र समर्पणलाई गीतमा चित्रण गरिएको छ । 

दीपक श्रेष्ठको निर्देशनमा तयार भएको फिल्मको ट्रेलरमा हासो, रोदन, एक्सन, बिछोड सम्पूर्ण कुराको मिश्रण छ । निर्देशक श्रेष्ठले ‘पर्खी बसेँ’ मार्फत नयाँ कलाकारका रुपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई डेब्यु गराएका थिए । यसपटक उनले ‘पर्खी बसेँ तिमीलाई’ मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकी डेब्यु गराएका छन् ।

रोमन फिल्म र तपश्री फिल्मस् (सिक्किम)  को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको फिल्ममा काठमाडौँ उपत्यकामा करण श्रेष्ठको रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।