इटहरी ।  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार आज (आइतबार) र हिजो (शनिबार) गरी झापा र सप्तरीका दुई वृद्धको मृत्यु भएको हो।

आज बिहान झापा बुद्धशान्ति गाउँपालिका–३ का ७० वर्षीय पुरुषको मृत्यु भएको जनाईएको छ । उनी उच्च रक्तचाप र मृगौलासम्बन्धी रोगबाट पीडित वृद्धले कोरोना विरुद्धको खोप लगाएका थिएनन्। वृद्धमा माघ १० गते कोरोना संक्रमण भएको थियो भने सोही दिन परिवारका सदस्यले वृद्धलाई प्रतिष्ठानको कोरोना अस्पतालमा भर्ना गराएका थिए।

त्यसैगरी सप्तरीस्थित राजविराज– १५ का ७५ वर्षीय वृद्धको हिजो (शनिबार) बिहान मृत्यु भएको बताइएको छ ।

कोरोना विरुद्धको खोप नलगाएका वृद्धमा मृगौलासम्बन्धी समस्या रहेको थियो। वृद्धमा माघ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा. पोखरेलले बताए।