इटहरी । इटहरी २ पिपलचोकमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

धरानतिरबाट दक्षिण जादै गरेको को १ ख ६१०८ नम्बरको तेलको ट्यांकरमा सोही दिशामा गइरहेको को १ ह ६४४१ नम्बरको टेम्पो पछाडिबाट ठोक्निदाँ दुर्घटना भएको हो ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सोही टेम्पोमा ४ जना सवार रहेका थिए । उक्त दुर्घटनामा परी धरानका एमाले नेता एवं पुर्वजनप्रतिनिधि ५६ बर्षीय योगेन्द्र बजगाई गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याइएको थियो । उनको बाटोमा नै मृत्यु भइसकेको चिकित्सकले बताए ।

सोही टेम्पोमा सवार धरान १३ की ३४ बषीया निलु वर्मा गम्भीर घाइते भएकी छिन् भने उनको ११ बर्षकी छोरी नियासा वर्मा र ४ बर्षकी छोरी दिप्यांकी वर्मा पनि घाइते छिन् । उनीहरुको वीपी प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मृतक बजगाई धरान १५ निवासी हुन् । उनी एमालेको अग्रज नेता हुन् । उनी वडाका पुर्वजनप्रतिनिधि पनि हुन् भने गएको जिल्ला अधिवेशनमा उनी जिल्ला आयोजक कमिटीका सदस्य पनि थिए ।