काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयमा छलफल भएको छ ।

आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।आजको भेटवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि गृहमन्त्रीबाट राजीनामा दिएका थिए । लामिछानेले आफूलाई फेरि गृहमन्त्री नियुक्त गर्नुपर्ने माग गरिरहेका छन् ।स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने आजसम्मको ‘अल्टिमेट’ दिएको छ ।

माघ १९ गते बसेको स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दुई दिनको ‘अल्टिमेटम’ दिएको थियो ।यस विषयमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो । एमाले अध्यक्ष ओली स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिनुपर्ने बताउँदै आएका छन् ।

तर, प्रधानमन्त्री दाहाल भने सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदासम्म कसैलाई पनि गृह मन्त्री नबनाउने पक्षमा छन् ।त्यस्तै, दाहाल र ओलीबीच राष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल भएको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २६ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते तोकेको छ । राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । माओवादी स्थायी समितिले बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिएको छ ।