धरान । सुनसरीको धरान २० मा हावाबाट विजुली उत्पादन गरिएको छ । वडा कार्यालय परिसरमा विन्ड टर्वाइन राखेर प्रोटोटाइप (नमुना) उर्जा उत्पादन गरिएको हो ।

प्रोजेक्टको आइतबार धरानका मेयर हर्क साम्पाङले उद्घाटन गरेका छन् । प्रोजेक्ट सम्पन्न गर्न मेयर साम्पाङले तर्कबहादुर मगरलाई मेनेजरको रुपमा जिम्मेवारी दिएका थिए । प्रोजेक्ट मेनेजर मगरका अनुसार ३ लाख ६२ हजार लागतमा आयोजना निर्माण सम्पन्न भएको हो ।

हावाबाट हाल २ सय वाट विजुली उत्पादन गरिएको छ । त्यसबाट ५ वटा बत्ति बालिएको छ । अझै ७ वटासम्म राख्न सकिने बताइएको छ । मेयर साम्पाङले अहिले नमुनाको रुपमा मात्र उत्पादन गरिएको बताए । उनले भविष्यमा कन्याटार डाँडाबाट ठुलो योजना बनाएर अझै धेरै विजुली उत्पादन गर्नसके धरान विद्युतमा आत्मनिर्भर हुने बताए ।

वडाअध्यक्ष पदम लिम्बूले वडा कार्यालयमै स्वास्थ्य चौकी पनि रहेको र बेला–बेला विजुली जाँदा समस्या हुने गरेकोमा अब राहत मिल्ने बताए ।