दुहबी । सुनसरीको  दुहबी नगरपालिकाले दुहबीको सोनापुरमा  खानेपानीको ट्याङ्की निर्माण गर्ने भएको छ । सोनापुर खानेपानी उपभोक्ता  समितिले सोनापुरमा ४ लाख ५० हजार लिटर क्षमताको खानेपानी  ट्याङ्की निर्माण गर्न मङ्गलवार  शिलान्यास गरेको हो । 

१ करोड ४४ लाख  ९३ हजार ८ सय ४५ रुपैयाँ बराबरको बजेटमा १८ महिना भित्र कार्य सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढाइएको दुहबीका  नगरप्रमुख  बेद गच्छदारले जानकारी दिए ।

पानी ट्याङ्की निर्माणको शिलान्यास  गर्दै गच्छदारले दुहबी ८ र ९ मा सुद्ध खानेपानीको अभावमा रहेका जनतालाई कार्य सम्पन्न भए पछि  ठुलो  राहत मिल्ने बताएका छन् । दुहबीको  १२ वटै  वडामा  खानेपानीको  सहज व्यवस्थापन  गर्ने   लक्ष्य  लिएर  आफू अगाडि बढेको बताए । दुहबी औद्योगिक क्षेत्र भएकाले  पानीको  माथिल्लो  सतह  सुक्दै जाने र कलबाट आउने पानी पिउन लायकको नभएकाले  खानेपानीको समस्या समाधान गर्न लागिपरेको गच्छदारले बताएका छन् । अब चाडै अर्को आयोजनाको निर्माण कार्य पनि सुरु गर्ने योजना रहेको जानकारी दिएका छन् । दुहबी  वडा नम्बर १०,११,१२ र ७ मा खानेपानीको  समस्या भएकाले  समाधान गर्न आफू लागिपरेको बताएका छन् । 

सोनापुर खानेपानी उपभोक्ता  समितिका अध्यक्ष ओम थापाले  २०७४ मा सोनापुर खाने पानी उपभोक्ता  समिति गठन  गरेर  जग्गा व्यवस्थापन र कार्यालयको लागी  भवन  निर्माण सम्पन्न भइसकेको जानकारी दिए । थापाले दुहबी नगरको सहयोगमा ४ लाख ५० हजार  क्षमताका २ वटा बोरिङ निर्माण हुने र  सोनापुर बासिले सहज रूपमा पानी उपभोग गर्न सक्ने बताएका छन् । कार्यक्रममा समितिका पूर्व अध्यक्ष  दीपक राई, वडा नम्बर ८ का अध्यक्ष  तारिक  सरदार,  ९ का अध्यक्ष   मेहेदी हुसैन लगायतको उपस्थिति  रहेको  थियो।