विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल प्रदेश १ सरकारबाट नबाहिरिने भएको छ ।तत्कालै सरकार छाड्दा राजनीतिक रूपमा अस्थिरता निम्तिने सम्भावना रहेको भन्दै सरकारमा रहनेर नरहनेबारे राप्रपाले थप छलफल गर्ने भएको हो । 

राप्रपा शनिबार नेकपा (माओवादी केन्द्र)  नेतृत्वको संघीय सरकारबाट फिर्ता भएको थियो । 

पार्टीले प्रदेशहरू पनि सोही निर्णय कार्यान्वयन हुने घोषित निर्णय गरेको थियो ।  पार्टी केन्द्रको निर्णयलगत्तै शनिबार नै प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा बुझाउने तयारीमा लागेका राप्रपा संसदीय दलको नेता तथा प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति प्रसाद सिटौलाले परिस्थितिमा केही बदलाव आएको बताए । उनले प्रदेश १ को अवस्था केही भिन्न देखिएको बताए । 

प्रदेश १ को प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सिट छ । त्यसपछि कांग्रेससँग २९, माओवादी केन्द्रसँग १३, राप्रपासँग ६, नेकपा एससँग ४ र जसपाको एक सिट रहेको छ । 

मुख्यमन्त्री कार्कीले माओवादी र राप्रपाको समर्थन नपाउँदा सरकार गुमाउनु पर्ने र बाँकी अवधि प्रतिपक्षी दलको नेतामा सीमित बन्नुपर्ने छ ।