काठमाडौँ । सरकारबाट बाहिरिने निर्णय गरेसँगै नेकपा (एमाले) बाट मन्त्री बनेका सबैले आजै राजीनामा बुझाउँदै छन् । उनीहरुले बालुवाटारस्थित निवासमै गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा बुझाउन लागेका हुन् ।

एमालेबाट उपप्रधानमन्त्रीसहित कुल ८ मन्त्री रहेकोमा ७ जनाले आजै राजीनामा दिन लागेको बताइएको छ । मन्त्री हरि उप्रेती भने बिरामी रहेकाले उनको राजीनामा पछि बुझाइनेछ ।

पछिल्लो समय एकाएक चिसिएको माओवादी र एमालेबीचको सम्बन्ध तथा प्रधानमन्त्रीको दाउपेचका कारण आज एमालेले आकस्मिक सचिवालय बैठक डाकेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ ।