विराटनगर । प्रदेश १ को  आजै नामाकरणको टुंगो लगाउने तयारी भएको छ ।   प्रदेश १ को आजै बिहान ११ बजे तोकिएको प्रदेश सभा बैठकमा नामाकरणको प्रक्रिया प्रवेश गराउने तयारी गरिएको हो । 

बिहान १० बजे सर्वदलीय छलफलपछि प्रदेशसभामा प्रक्रियाका लागि नामले प्रवेश पाउने छ ।

छलफल र बैठकमा सहभागी नेताहरूले जो जो छलफल बसेको हो सूचना नचुहाउने सहमति भएकोले विषयलाई गोप्य राखिएको नेकपा माओवादीका एक नेताले बताए । नेकपा माओवादीका एक नेताका अनुसार कुनै नाटकीय परिवर्तन नभए बुधबार राती ८ बजेसम्म भएपनि नाम टुंगिने छ ।

नेकपा माओवादीले पहिचानसहितको नाममा जोड दिए पनि यदि अरु नाममा दुई तिहाइ पुग्ने भएमा त्यसैमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ ।

मंगलबार माओवादीका प्रदेश अध्यक्ष, केन्द्रिय सदस्य साथै संसदीय दलको नेताको इन्द्रबहादुर आङ्बोको उपस्तिथिमा बैठक बसेर नामकरणमा बाधक नबन्ने नीति पास गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीका प्रदेश अध्यक्ष, इन्चार्ज र केन्द्रीय अध्यक्षको समन्वय छलफल बढाएका थिए । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले यस अघि नै प्रदेशको नाम कोसी हुनुपर्ने लबिङ गर्दै आएका थिए ।

नाटकीय परिवर्तन नभए प्रदेशको नाम कोसी हुने सम्भावना बलियो छ । प्रदेश १ मा सबै सांसद आदिवासी जनजाति भएका नेकपा समाजवादी पार्टीले पहिचान सहितको नाम प्रदेशसभामा दर्ता गराउने तयारी गरेको स्रोतले बतायो ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दलहरुबीच नामकरणको विषयमा छलफल भएको स्विकार गर्दै यदि सभामा नामको प्रस्ताव आएमा आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिए ।