काठमाडौं । नयाँ राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेलले आज सोमबार आफ्नो कार्यभारको थालनी गर्ने भएका छन् । गत फागुन २५ गते नै पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् ।

पौडेलले सोमबार आफ्नो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउने कार्यक्रम छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो १ बजे हुने शपथ कार्यक्रममा पौडेललाई भण्डारीबाट पद हस्तान्तरणसँगै भण्डारीको बिदाइ कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शपथपछि आजै पौडेल शीतल निवास सर्नेछन् भने वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शीतल निवासबाट बूढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्नेछिन् ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते पनि उनी नै राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।