काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरुले गृह र सूचना तथा सञ्चार प्रविधि मन्त्री मन्त्रालय पार्टीले नै राख्नुपर्ने बताएका छन् ।  नेताहरूले मन्त्रालय भागबन्डा हुँदा यी दुई मन्त्रालय पार्टीले नै राख्नुपर्ने बताएका हुन् ।

पार्टीको शनिवार बसेको पदाधिकारी बैठकमा नेताहरूले गृह र सञ्चार मन्त्रालय पार्टीले नै राख्नुपर्ने भन्दै प्रचण्डलाई दबाब दिएका थिए । ती मन्त्रालय कांग्रेसले दाबी गरेको चर्चा चल्न थालेपछि नेताहरूले प्रचण्डलाई दायाबायाँ नगर्न दबाब दिएका हुन्। त्यसपछि प्रचण्डले भागबन्डा हुँदा गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पार्टीले नै पाउनुपर्ने पक्षमा आफू रहेको बताए । 

प्रचण्डले गृह आफ्नो पार्टीले राखेर अर्थ मन्त्रालय कांग्रेसलाई दिन सकिने विषयमा ब्रिफिङ गरेको पनि ती नेताको भनाइ छ । यस्तै ती नेताका अनुसार अहिले भएका मन्त्रीमा थप नभएमा भौतिक यातायात तथा पूर्वाधारमन्त्री मन्त्री नारायणकाजी श्रेष्ठ नै गृहमन्त्री हुने सम्भावना देखिएको छ । 

हाल सञ्चार मन्त्री माओवादीकै भागमा परेको छ । सो मन्त्रालयमा हाल रेखा शर्मा रहेकी छन् । सो मन्त्रालयमा उनले नै निरन्तरता पाउने बताइएको छ ।