काठमाडौँ । काठमाडौँमा सम्पन्न एसीसी मेन्स प्रिमियर कपको उपाधि विजेता नेपाली क्रिकेट टिमका प्रशिक्षक सहित खेलाडीहरूलाई सरकारले जनही ६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विजेता खेलाडीलाई जनही ६ लाखको दरले पुरस्कार दिने  निर्णय गरेको हो ।  नेपाली क्रिकेट टिमले उपाधि जितेसँगै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीलाई बधाई दिँदै पुरस्कृत गर्ने घोषणा गरेका थिए ।

यस्तै राष्ट्रिय क्रिकेट टिमका अफिसियल टिमलाई जनही रु ३ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।  मङ्गलवार भएको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै उपाधि जित्न सफल भएको थियो।

प्रिमियर कपको उपाधिसँगै नेपालले भारत र पाकिस्तान खेल्ने एसिया कपमा स्थान बनाएको छ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुँदैछ ।मन्त्रिपरिषद्को बैठकले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरेको जनाइएको छ ।